Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

उडिसा घटनामा नेपाली दूतावासले भन्यो–विद्यार्थीलाई बस्न दिन ‘केआईआईटी’ राजी छ

भारतको उडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको विषयलाई उक्त शैक्षिक संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमबारे केआईआईटीका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल गरेको बताउँदै नेपाली विद्यार्थी लम्सालको मृत्युको सम्बन्धमा आफूहरूले स्वतन्त्र तथा निष्पक्ष ढंगले अनुसन्धान गर्न जोड दिएकामा केआईआईटीले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको जनाएको हो ।


‘यस राजदूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व। प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएकोमा सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ । मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस राजदूतावास हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै दूतावासले नेपाली विद्यार्थीहरूलाई केआईआईटीकै छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन तथा कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेकामा सोही अनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको समेत व्यवस्था गर्ने जानकारी दिइएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको पनि जानकारी दिएको छ । साथै उक्त निकायहरूबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको पनि जनाएको छ । दूतावासले प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरूलाई केही समस्या भएमा यस इमेलमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।


हेर्नुस् दूतावासको विज्ञप्ति

dootabash.jpeg