Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आधा किलो सुन र तीन किलो चाँदीसहित एक भारतीय युवक पक्राउ

काठमाडौंबाट आधा किलो बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश महादेव चाँगु छन् ।

भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनीबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ । उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको छ । विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीको भनाइ छ ।

‘विदेशबाट भन्सार छलेर ल्याइएका सुन किन्ने र गालेर बेच्ने गरेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने ।