Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट रु पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र रिडर गणबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।


यस्तै सो अवधिमा बागमती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार दुई ५६ सवारी दुर्घटनामा एक सय ७० जनाको मृत्यु भएको छ भने चार सय ६३ जना घाइते भएको सो कार्यालयले जनाएको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमा समेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।