Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइते महिलाको उद्धार

साँफे–मार्तडी राजमार्ग खण्डमा पर्ने अम्कोटमा आज बिहान बसको ठक्करबाट घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

बूढीगङ्गा नगरपालिका–१ अम्कोट घर भएकी ५० वर्षीया विस्ना पाध्यायको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको बेला पछाडिबाट ठक्कर दिएको थियो ।

घाइते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भए पनि गम्भीर चोट लागेकाले थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष रायले जानकारी दिए ।  

उनका अनुसार घाइते महिला गर्भवती भएकाले पाठेघरमा रगत जमेको हुनसक्ने आशङ्कामा प्रादेशिक अस्पताल पठाइएको हो । “बसको ठक्करबाट आज बिहान आमा छोरा घाइते भएका थिए । उनका आठ वर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा मृत्यु भइसकेको छ”, उनले भए ।

बस चालक ४० वर्षीय उपेन्द्र मडैसहित बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।