Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अरहरी खोलाको किनारमा गरियो कमला माईको पूजापाठ

धनुषाको हंसपुर नगरपालिकास्थित बघचौडा गाउँका मल्लाह जातिका व्यक्तिहरुले आफ्ना कुल देवी जलकी देवी कमला माईको पूजा विशेष श्रद्धा र आस्थाका साथ मनाएका छन् । 

प्रत्येक वर्ष फागुन महिनामा मल्लाह जातिले जलकी देवीको रुपमा पूजित कमला माईको पूजा गर्दै आएका छन् ।  सो क्रममा हंसपुर नगरपालिका वडा नम्बर २ र ३ बघचौडा निवासी मल्लाह जातिका व्यक्तिहरुले नगरपालिका कार्यालय नजिक रहेका अरहरी खोलाको किनारमा कमला माईको पूजापाठ गरेका छन् । 

कमला माई पूजा समितिद्वारा आयोजित सो पूजामा कमलामाईलाई भाकल भएकाहरुले सलामी दिनुका साथै महराई गाउनुको साथै श्रद्धालुहरुले देवता समेत खेलाएका छन् । पूजामा मल्लाह जातिसहित भाकल गरेका बघचौडा लगायत वरपर गाउँका अन्य जाति हजारौ व्यक्तिले सो पूजामा सहभागिता जनाएका छन् ।  मल्लाह समुदायका सदस्यहरू माछा पालन, माछा सिकार र माछा व्यवसायमा संलग्न छन् र आफ्नो जीवनयापनका लागि यी क्रियाकलापहरूमा निर्भर छन् । 

Photo (13).jpg

जलकी देवी कमला माई भएका कारण आफ्नो पुर्खादेखि नै अहिलेसम्म कमला माईको पूजा वर्षेणी गर्दै आएका समितिका सल्लाहकार निर्गुण सहनीले बताए । कमला माईको पूजाको अवसरमा, मल्लाह समुदायका सदस्यहरू फलफूल, प्रसाद, मिठाई, तसमै (खीर) र पशुपक्षीको बलि चढाएर पूजा गर्छन् ।

साथै, हुक्का, पिनी, रक्सी र मिथिलाञ्चलको माघे प्रसाद भनिने च्यूराको लड्डु पनि चढाइन्छ । यसरी, उनीहरूले कमला माईको आशीर्वाद प्राप्त गर्न र आफ्नो व्यवसायमा सफलता र समृद्धि सुनिश्चित गर्न चाहन्छन् । समितिका अर्का सल्लाहकार राजेन्द्र सहनीले हामी मल्लाह जातिलाई कमला माईले पेशा कर्म माछा मार्न नदी तलाउमा जाँदा रक्षा गर्नु हुन्छ र हाम्रो रोजगारसँग सम्बन्धित भएकाले पुर्खैदेखि हाम्रो कुलदेवीको रुपमा पूजित छन् । यो पूजामा कमला माईका साथै कोइलावीर, दयालसिंह र शिवधर पजियारलाई समेत पूजापाठ गरिन्छ । चारैजना देवी देवतालाई प्रसाद संगै खसीको बली पनि दिने गरिएको बताए ।

यस्तै साहित्यकार एवं मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष स्थानीय रामभरोस कापडिले कमला माईलाई जीवनयापनको दृष्टिकोणले चाहे त्यो मल्लाह जातिको माछा मार्ने पेशासँग होस् वा कृषिको सिँचाईका लागि पानीको पूर्ति गर्दै आएको जनविश्वासले पूजा गरिँदै आएको हो । यो जातिय पूजा भएपनि यसले संस्कृतिको जर्गेना गर्दै आएको छ ।