Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मोटरसाइकल दुर्घटनामा २८ वर्षीय डाक्टरको निधन

मोटरसाइकल दुर्घटनामा परी एक युवा चिकित्सकको मृत्यु भएको छ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत २८ वर्षीय डा प्रतिक श्रीवास्तवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

डा. श्रीवास्तवको गए राति चितवनको भरतपुर महानगरपालिका–१० विशाल चोक नजिकै भित्रि सडकमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते श्रीवास्तवलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको हो । डा. श्रीवास्तव वीरगञ्जका हुन् ।


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भरतपुर हाकिम चोकमा बस्ने २८ वर्षीय विवेक चापागाईं गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार ना ६४ प ५९३८ नम्बरको मोटरसाइकल गए राति १२ः४० बजे सडक छेउमा रहेको सिमेन्टको गमलामा ठोक्किएर दुर्घटना भएको हो ।

डा. श्रीवास्तवको निधनपछि नेपाल चिकित्सक संघ जुनियर डाक्टर कमिटिले शोक विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ । संघले इमान्दार र लगनशिल यूवा चिकित्सक गुमाएको संघले जनाएको छ । यस्तै मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पनि शोक विज्ञप्ती जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।