Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५ मा रहेको ३ नम्बर पुलबाट आज (शुक्रबार) बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन गरेर खोजीकार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।


थापाका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।