Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टनकपुर बाँधबाट नेपालतर्फ पानी छाड्ने सहमति

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताएका छन् । उनले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारे अन्तिम टुंगो लगाउने छलफल पनि भएको जानकारी दिए ।

उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । दुई देशबीचको सिँचाइ व्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यही २२–२४ फेब्रुअरीमा छलफल गर्ने सहमति भएको बताए । दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०‍-५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा द्विविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए ।


बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरूमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन व्यापारको रकम प्राप्त गर्ने बताए । मन्त्री खड्काले भने, ‘सिँचाइतर्फ हाम्रा ठूला आयोजनाहरू पञ्चेश्वरलाई अगाडि बढाउने छलफल भयो र एक हिसाबको सहमति अगाडि बढेको छ । अब चाँडै सम्माननीय प्रधानमन्त्रीहरूको बैठकमा अन्तिम टुंगो लाग्ने हिसाबले हाम्रो छलफल भएको छ । कोशीको विषयमा पनि केही छलफल भएका छन् । टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षौंअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ । दुई देशबीचमा सिँचाइतर्फ पनि बैठक हुन नसकेको लामो समय भयो । अब आउने २२–२४ तारिकमा नै मिटिङ हुनेगरीको एक खालको सहमति भएर दुवै देशका मन्त्रीका बीचमा सफलतापूर्वक बैठक सम्पन्न भएको छ ।’