Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विपिन नछुट्दै बन्धक रिहाइ रोक्ने हमासको घोषणा

नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ। इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो । पूर्व सम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा थियो ।

तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पुर्‍याउन बाधा पुर्‍याइरहेको आरोप लगाएको छ ।


हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन ९इजरायल० ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’ इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो ।

लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शनिबार हमासले बन्धकहरु रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने र हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका छन् ।