जङ्गली बँदेल गाउँ नगरका बस्तीमा पसेर बालीमा क्षति पुर्याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको संख्या बढ्दो छ ।
‘हेर्नोस, हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन चार पुस्ता देखिन्छन्’, जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, ‘यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन् , अनि किन सम्झुन् वन जङ्गल १’ उनले सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टी र खैरासम्मका आफ्ना वरपरका बस्ती नजिक अब झुण्ड (समूह) मा बँदेलको स्थायी बसोबास बढेको बताए ।
जिल्लाको भारतसँग सीमा जोडिने पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरमम्मै बँदेल बाक्लै बस्छन् । अझ नदीउकास क्षेत्रका काँसका झाडी भएका ठाउँमा त झन बढी बँदेल देखिने गरेका खैरवनीका बासिन्दा कौशीलाल यादव बताउँछन् । यता मात्र नभएर सीमापारीका छिमेकका भारतीय बस्तीमा पनि यिनको उधुम देखिने गरेको उनको भनाइ छ ।
बर्दिबासदेखि १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका सबै बस्तीमा बँदेलको आतंक छ । उखु नकाटिउञ्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि नजिककै अर्कोतिर बास सारेर बस्ने गरेका भङ्गाहा–४ का सामाजिक कार्यकर्ता ६५ वर्षीय मुकुन्द दाहाल बताउँछन् । बँदेलको आतंकले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र डुलफिरमा निस्कन डरमर्दो भएको दाहालको भनाइ छ । पाँच÷सात वर्षअघि भर्खर वनबाट झरेका बेलामा जस्तो आक्रमण भने पछिल्लो बँदेल पुस्ताले नगर्ने गरेको दाहालको अनुभव छ । यो निरन्तर मान्छेको चहलपहलले बानी पर्दै गएर भएको हुनसक्ने यस भेगका बासिन्दा बताउँछन् ।
बँदेलले धेरैजसो स–साना केराका कोथा, कोवी, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ। ‘हामीले यिनको आतंकले पछिल्ला चार÷पाँच वर्षयता राम्ररी बाली लिन पाएका छैनौँ’ रामगोपालपुर–२ मोहनपुरका मोहम्मद कादिर हुसैन भन्छन्, ‘अब त यिनकै लागि बाली लगाए जस्तो भएको छ ।’
बँदेल जस्तै निलगाई पनि अब जिल्लाका सुदूर दक्षिणी बस्तीसम्म बाक्लै भेटिन्छन् । निलगाई चाँही वनतिर ओहोरदोहोर गरिरहेका औरही नगरपालिका –४ बैरियाका रामस्नेही यादव बताउँछन् । ‘बँदेल त यतै स्थायी रुपले बस्न थालेका छन्, निलगाई भने यता चरेर केही दिनको फरकमा वनतिर आउनेजाने गरिरहेका बुझिन्छ’ यादव भन्छन्, ‘यद्यपि निलगाई पनि ठाउँठाउँमा निकै संख्यामा देखिन्छन् ।’ अब बँदेल र निलगाई वन्यजन्तु नभएर बस्ती वरपर बसोबास गर्ने जन्तुसरह बनेका यादवसहितका सो बस्तीका बासिन्दा बताउँछन् ।
जिल्लाका १५ वटै स्थानीयतहका बस्ती वरपर अहिले बँदेल र निलगाईको उत्पातले किसान दिक्क छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुःखेसो छ । ‘हामी स्थानीय तह, प्रहरी, प्रशासनमा हारगुहार गरेको गर्यै’, बलवा नगरपालिकाको रौजाका मन्सुल कवारी भन्छन्, ‘तर भरपर्दो कुनै उपाय खोजिएको देखिदैन।’ खासमा जिल्लाको उत्तरीक्षेत्रका वन नजिक वरपर वन मासिँदै बस्ती बढ्दै गएसँगै यी वन्यजन्तु दपेटिएर तलतिर झर्न लागेका यहाँका पाकाजन बताउँछन्। वनमा अत्यधिक मानव चहलपहल बढ्दै जानु, सिकारीको दपेटाइ बढ्नु, पानी र आहाराको कमी हुँदै जानुले वन्यजन्तु तलतिर झर्ने क्रम बढेको भङ्गाहा–५ सीतापुरका कृषिविज्ञ रामबहादुर भुजेलले बताए ।