Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिरहाको देवीदह संरक्षणमा आर्थिक अभाव

 सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ ।

देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबद्र्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादव बताए । ‘यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ’, उनले भने, ‘तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।’


उनका अनुसार पोखरीमा ‘जलयात्रा’ का लागि रहेका पाँच डुङ्गामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा। रामबरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले जानकारी दिए । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगाएतका काम भएको उनले जानकारी दिए ।

नेपाल पर्यटन वोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिए । नगरले आफ्नो तर्फबाट व्यहोर्नुपर्ने ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टीखोलादेखी देवीदहसम्मको छ किलोमिटर सडक कालोपत्रे, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, क्वीमिङ्ग पुल लगाएतका संरचना अघि बढ्न नसकेको उनको भनाई छ । वर्तमान नगर प्रमुख महेश प्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दापनि कुनै सुनुवाई हुन नसकेको उनले गुनासो गरे ।

देवीदहको विकासका लागि आफुँले सकेको सहयोग गरिरहेको यसै वडाका वडाअध्यक्ष प्रथमलाल चौधरी बताउँछन्। उनले भने, ‘वडाको स्रोत र साधन कति नै हुन्छ र । त्यही पनि हामीले सकेको सहयोग गरिरहेका छौँ ।’ गत वर्ष वडाको आठ लाख आर्थिक सहयोगमा देवी मन्दिर निर्माण गरेको उनले जानकारी दिए । चुरे क्षेत्रमा भूमिगत पानीको सतह घटदै गएको अवस्थामा यस प्रकारका पोखरीहरुको संरक्षण र सम्बद्र्र्धनका लागि तीनै तहका सरकारले प्रथमिकता दिनुपर्ने वडाअध्यक्ष चौधरीको भनाइ छ ।