Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल अफ्थाल्मिक सोसाइटीद्वारा नेतृत्व विकास तालिमको आयोजना

नेपाल अफ्थाल्मिक सोसाइटीले नेत्र चिकित्सकहरूका लागि पोखरामा एक दिने नेतृत्व विकास तालिमको आयोजना गरेको छ। उक्त कार्यक्रम नेपाल मेडिकल एसोसिएसनका उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक डा राजन शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्व विकास प्रशिक्षकका रूपमा परिचित उत्तम झा मुख्य प्रशिक्षक थिए । करिब ३० वर्षको अनुभव रहेका झाले पोखरास्थित विभिन्न आँखा अस्पतालका नेत्र चिकित्सक तथा आवासीय चिकित्सकहरूलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

नेपाल अफ्थाल्मिक सोसाइटीका अध्यक्ष एसोसिएट प्रोफेसर डा पुरुषोत्तम जोशीका अनुसार, सोसाइटीका सदस्यहरूको व्यक्तिगत तथा व्यवसायिक विकासका लागि यस्ता कार्यक्रम आवश्यक भएकाले यसको सुरुवात गरिएको हो । सोसाइटीका महासचिव डा तेजसु सिंह मल्लका अनुसार, आगामी दिनमा बाँकी रहेका ६ वटा प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

महासचिव मल्लले नैत्रिक चिकित्सा क्षेत्रमा प्राविधिक सीप हस्तान्तरण वार्षिक सम्मेलनमार्फत भइरहे पनि गैरप्राविधिक सीप विकासमा कम ध्यान दिइएकाले नेतृत्व विकास तालिम आवश्यक भएको जानकारी दिए । हालै सम्पन्न वार्षिक सम्मेलनमा समेत नेपाल लिडरशिप डेभलपमेन्ट प्रोग्राम अन्तर्गत एक विशेष सत्र राखिएको बताइएको छ ।

नेपाल अफ्थाल्मिक सोसाइटीले भविष्यमा नेपाल नेतृत्व विकास कार्यक्रम स्थापनाका लागि योजना बनाइरहेको र यसमार्फत सहभागीहरुलाई अन्तर्राष्ट्रिय नेतृत्व विकास कार्यक्रममा समेत सहभागिता जनाउन मद्धत पुर्याउने छ । नेपाल अफ्थाल्मिक सोसाइटी आँखा विशेषज्ञहरुको छाता संगठन हो । ५ सयभन्दा धेरै आँखा चिकित्सकहरु सहभागी सोसाइटीले सन् १९८५ मा स्थापना भएयता आँखा विशेषज्ञहरुको पेशागत विकास, हकहितमा क्रियाशिल हुनुका साथै राज्यसमक्ष नीतिगत सुधारका विषयहरुमा पहल र पैरवी गर्दै आएको छ ।