Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नागार्जुनका मेयर बस्नेतविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका नगर प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा दोस्रो भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बस्नेतले गैरकानूनी रूपमा आठ८ करोड ६९ लाख ८७ हजार बढी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले अर्को मुद्दा दायर गरेको हो ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बस्नेतले पदीय मर्यादा विपरीत कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा अभियोग पत्र दायर गरेको जनाएको छ । आयोगका अनुसार, नगर प्रमुख निर्वाचित हुनुअघि र पछिको बस्नेत तथा उनको परिवारको आर्थिक अवस्था विश्लेषण गर्दा उनको आय स्रोतभन्दा बढी सम्पत्ति आर्जन भएको पाइएको छ ।


अनुसन्धानका क्रममा बस्नेत र उनको परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात रकम, तलब–भत्ता, जग्गा बिक्री, बीमा परिपक्वता, शेयर कारोबारलगायतबाट जम्मा १९ करोड ९५ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको देखिएको आयोगले जनाएको छ ।

तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, विदेश भ्रमण, विवाह खर्च, विभिन्न व्यक्तिलाई दिइएको रकमलगायत शीर्षकमा २८ करोड ६५ लाख रुपैयाँ खर्च भएको पाइएको छ । जसका कारण स्रोत नखुलेको ८ करोड ६९ लाख रुपैयाँको सम्पत्ति रहेको देखिएको छ ।

आयोगले बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार भ्रष्टाचार मुद्दा चलाउन विशेष अदालतमा माग गरेको छ । मुद्दामा उक्त गैरकानूनी सम्पत्ति जफत गरी बिगोबमोजिम जरिवाना तथा कैद सजायको माग गरिएको छ। साथै, सम्पत्ति विवरण लुकाएको अभियोगमा ऐनको दफा १६ को उपदफा (२) अनुसार थप सजायको माग गरिएको छ ।

बस्नेतकी श्रीमती उर्मिला बस्नेतको नाममा रहेको सम्पत्ति पनि भ्रष्टाचार ऐनको दफा ४७ तथा अख्तियार ऐनको दफा २९(ख) अनुसार जफत गर्नुपर्ने माग गर्दै उनलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ । आयोगले दायर गरेको आरोपपत्रमा बस्नेतले सार्वजनिक पदको दुरुपयोग गर्दै अकूत सम्पत्ति आर्जन गरेको पुष्टि भएको उल्लेख छ । अब विशेष अदालतले यस विषयमा अन्तिम फैसला गर्नेछ । मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोत साधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।