प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीमा सुतली बम विष्फोट हुँदा एक बालक घाइते भएका छन् । बारीमा भेटिएको बम खेलाउने क्रममा विष्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बम विष्फोट हुँदा बालकको दाहिने खुट्टाको पैतलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । घाइते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।
बँदेल मार्नका लागि प्रयोग गरिएको सुतली बम जस्तो देखिने आलु आकारको थप दुई वटा बमलाई बर्द बहादुर गणको टोलीले निस्क्रिया (डिस्पोज) गरेको छ । प्रहरीले अनुसन्धानका लागि मल्लरानी गाउँपालिका–३ धरमपानी बस्ने ५८ वर्षीय मोहनबहादुर केसीलाई पक्राउ गरेको जनाएको छ ।
यता रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ । वडा नम्बर ६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो । वडा अध्यक्ष भद्रबहादुर शेर्पालीले जङ्गलको खोल्सामा बम भेटिएको सूचना दिए पश्चात प्रहरी चौकी झुन्नेटाबाट र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थल सुरक्षित गरिएको र बम डिस्फोजल टोली घटनास्थल पुगिसकेको जानकारी दिए । उक्त बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ ।