Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

हावादारी कुरा नगरौं, पार्टी विघटन भए मात्रै ०८४ पछि महाधिवेशन हुनसक्छः गगन थापा

‘सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ’

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्ने बताएका छन् । आज शनिबार काठमाडौंमा अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा उनले सरकारको यो अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र नेकपा एमालेले लिनुपर्ने बताए ।

उनले यसअघिका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्योल देखिएको बताए । सरकारमा रहँदा राम्रो भन्ने र बाहिर निस्किएपछि नराम्रो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र त्यसले गरेका कामको जिम्मा नलिने प्रवृत्ति तोड्नुपर्ने बताएका छन् । अबका तीन वर्षमा देखिने गरी काम गर्ने र त्यसलाई लिएर ०८४ को निर्वाचनमा जनता माझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले उल्लेख गरे ।


संघीयताका विषयमा गलत टिप्पणी गर्ने गरिएको उनले बताएका छन् । हाल समस्या प्रदेशमा नभई संघमा देखिएको उनले जिकिर गरे । तीनै तहका सरकारले एकार्काको अधिकार खोस्ने कार्य गर्न नहुने उनले बताए । महामन्त्री थापाले चैतभित्रमा सदस्यता नवीकरणको काम गरिसक्ने बताएका छन् । उनले सदस्यताको विषयमा समयमै टुंग्याइने बताए छन् ।

उनले भने, ‘केही नेताहरु अधिवेशनबारे बोल्नु भएको छ, तर नेपालको संविधान कानून सबै कुराले २०८४ चुनावपछि महाधिवेशन गर्ने भन्ने कुरा दिँदैन । कतिपयले एउटा सानो पार्टी ल्याएर मिसाएर समय थप्न मिल्छ कि भन्दैछन्, त्यो भए त कुनै पार्टीले कहिले पनि अधिवेशन नगरे हुन्छ । म पार्टीको सभापति भए पहिला सानो पार्टी बनाइदिन्छु, अनि पाँच वर्षपछि त्यसलाई मिलाइदिन्छु अनि म्याद थप्यो भइहाल्यो नि ! त्यसैले यस्तो हावादारी कुराको पछि नलागौं, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’ महामन्त्री थापाले संविधान कानूनअनुसार अधिवेशनको प्रक्रिया प्रारम्भ गरेर महाधिवेशनसम्म पुग्दा २०८३ पुग्न सक्ने बताएका छन् ।