खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । कृषि विज्ञ मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ ।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले यसअघि गत माघ १३ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो । दाहालको इजलासले राईलाई शुक्रबार २ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको हो ।
जिल्ला अदालत खोटाङले उनलाई माघ १० गते बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । राईलाई उनी आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो ।
७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो । उनीविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।