Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अधिवक्ता त्रिपाठीमाथि आक्रमणको आरोप लागेका  दुई जना धरौटीमा रिहा

त्रिपाठीमाथि कुटपिटको आरोपमा थप एक जना पक्राउ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने दुई जनासँग जिल्ला अदालत काठमाडौंले एक–एक लाख रुपैयाँ धरौटी मागेको छ । काठमाडौं जिल्ला अदातलका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एकरएक लाख धरौटीमा मागेको हो ।

अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।


अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । धरौटी बुझाउन नसेकका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाको उपसभापति हुन् । जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए । उनलाई थुनामै राखिएको छ ।

त्रिपाठीमाथि कुटपिटको आरोपमा थप एक जना पक्राउ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने ३३ वर्षीय दिपक आले मगर पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले बिहीबार साँझ साढे ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । मगरलाई काठमाडौं जिल्ला अदालतले शुक्रबार पाँच दिन हिरासतमा राख्न अनुमति समेत दिएको छ । त्रिपाठीमाथि माघ २ गते जिल्ला अदालत बाहिर मगरसहितको समूहले कुटपिट गरेका थिए। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दामा थुनछेक बहस गरेर फर्किंदै गरेका त्रिपाठीमाथि कुटपिट भएको हो ।