Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिर्तामोडको होटलमा बसेका युवकको मृत्यु, सँगै बसेकी युवतीसहित २ जना पक्राउ

बिर्तामोडको एक होटलमा बसेका झापामा एक युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र झापाकै बिर्तामोड नगरपालिका–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गए राति (माघ २४) बिर्तामोड–४ स्थित एभरेस्ट होटेल एन्ड लजमा बसेका झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापका ३० वर्षीय सागर बेस्राको मृत्यु भएको थियो । सागर र उनकी केटी साथी मुना उक्त लजमा राति खाना खाएर सुतेका थिए ।

पछि राति करिब ११ बजे लजको कोठाभित्र बाथरुमको ढोकाछेउ भुइँमा लडेर सागर बेहोस भएका थिए । त्यसपछि उनलाई मुना र होटेल सञ्चालक यामकुमारीले बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा पुर्‍याएका थिए । अस्पतालले उनको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुनसरीकी मुना झापाको कनकाई नगरपालिका–७, दुर्गापुरमा बस्दै आएकी थिइन् । मुना र यामकुमारीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।