Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सशस्त्र प्रहरीको जागिर छाड्दै अस्ट्रेलिया उडिन् सरस्वती, विदाइमा भइन् भावुक

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएकी छन् ।सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर उनी अस्ट्रेलिया पलायन भएकी हुन् । राष्ट्रिय टोली र एपिएफकी रोजाईकी स्पाइकर सरस्वती यसअघि केही समयका लागि अस्ट्रेलिया गएकी थिइन् ।

हालै पोखरामा भएको टाइगर कप भलिबल खेल्न नेपाल आएकी सरस्वती प्रतियोगिता सकिए लगत्तै एपिएफको जागिर समेत छाडेर पुनः अस्ट्रेलिया फर्किएकी हुन् । सरस्वती आठ वर्ष अगाडि एपिएफको सेवामा प्रवेश गरेकी थिइन् ।एपिएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भावुक बनेकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल खेलाडीहरु पुगेका थिए ।

 

sarswati chaudhari2025-02-06-21-22-58.jpg
१७ वर्षको उमेरमा सरस्वती एपिएफमा आवद्ध भएकी थिइन् । उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन्। एपिएफले उपाधि जितेका प्रतियोगितामा उनकै मुख्य योगदान हुने गर्छ । क्लव भलिबलमा तहल्का मच्चाएकी सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी हुन् । नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसीपमा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले पहिलो पटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसयता उनले निरन्तर राष्ट्रिय टिमका लागि अहम् भूमिका निभाउँदै आएकी छन् ।

नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जित्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक थियो । नेपालमै भएको १३ औं सागमा पनि उनले आफ्नो उत्कृष्टता कायम राख्दै टीमलाई फाइनलसम्म पुर्याइन् । फाइनलमा नेपाल भारतसँग ३–२ ले चुकेको थियो ।

नेपालले पहिलोपटक भलिबलमा गत वर्ष भारतलाई हरायो । काभा भलिबल नेसन्स लिगको लिग चरणमा नेपालले भारतलाई ३–१ को सेटमा हराउँदा सरस्वतीकै प्रदर्शन निर्णायक थियो । सरस्वती नेपालको राष्ट्रिय महिला टीमकी खम्बा नै हुन् । ६ फिट १ इञ्च अग्ली उनी कडा स्पाइकका लागि चिनिन्छन् । कैलालीको धनगढीमा जन्ीमएकी उनी १२ वर्षको उमेरदेखि भलिबलमा लागेकी थिइन् ।