Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जापानमा बिग्रियो नेपाल एयरलाइन्सको जहाज, २६१ यात्रु अलपत्र

नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको बाइडबडी जहाज जापानमा प्राविधिक समस्यामा परेको छ । नेपाली समयअनुसार बिहान ६ः१० बजे उडान भर्न तयार रहेको उक्त विमानको टायर पड्किएपछि उडान अवरुद्ध भएको हो ।

वाइडबडी विमानको पांग्रा पञ्चर हुँदा नेपाल आउन लागेका २६१ यात्रु जापानको नारितामा अलपत्र परेका छन् । सोमबार नारिता विमानस्थलबाट काठमाडौं फर्कनै लाग्दा अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की) को पांग्रा पञ्चर भएको हो । एप्रोनबाट धावनमार्गमा जाँदै गर्दा बायाँतर्फको ल्यान्डिङ गियरको पांग्रा पञ्चर भएको थियो । उक्त विमान आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९२ यात्रु लिएर जापान उडेको थियो ।


नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोजकुमार ठाकुरका अनुसार टायर पञ्चर भएपछि तत्काल मर्मतसम्बन्धी आवश्यक निर्णय गर्न छलफल भइरहेको छ । ‘हाल हामी विकल्पहरूबारे विचार गर्दैछौं,’ उनले भने, ‘नेपालबाट प्राविधिक टोली पठाउने कि जापानमै मर्मत कार्य अघि बढाउने भन्नेबारे निर्णय लिँदैछौं ।’ 

काठमाडौंबाट टायर पठाउने वा जापानमै व्यवस्थापन गर्नेबारे अझै टुंगो लाग्न बाँकी छ । जहाजलाई काठमाडौंमा दिउँसो २ः५० मा अवतरण गर्ने तालिका थियो ।