Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विव्यस अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद सापकोटासहित ९ जनाविरुद्ध सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कालीगण्डकी गाउँपालिका– १ स्थित देउराली माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेतको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा उक्त विद्यालयको माध्यमिक तह ९कक्षा ९–१०० को अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनमा उनीहरूले अनियमितता गरेका थिए।


’....प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भए अनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्नेमा शिक्षक छनोटको कुनै कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको पाइएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै उनीहरूले बेपत्ता व्यक्तिको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालीगण्डकी गाउँपालिका, गुल्मीमा पेश गरी गैरकानूनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुस्ट तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षण समेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएको आयोगले जनाएको छ।