Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

तीन ठूला पार्टीले देश बर्बाद पार्दैछन्ः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पाथीभरा मन्दिरमा कुनै एक व्यवसायीको लाभको लागि केबलकार बनाउन दिन नहुने बताएका छन् । आज आइतबार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताएका हुन् ।

उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनता माथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए । उनले पाथीभरा मन्दिरमा केबलकारको आवश्यकता, स्थानीय जनताको फाइदा, मन्दिरको मौलिकताको सुरक्षा,सनातन परम्परामाथि आक्रमण र सुरक्षाका विषयमा विश्लेषण गरेर मात्रै केवलकार निर्माण कार्यअघि बढाउनु पर्नेमा जोड दिए ।

सरकारले केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने बताए । उनले केबलकार निर्माण कार्य रोक्दै सरकारले जनतामाथि गरिएको प्रहरी दमन रोकी सहज वातावरण र जनजीवनलाई सहज बनाउँदै आतंकको अन्त्य गर्न ध्यानाकर्षण गराए । उनले सरकार व्यवसायीको व्यक्तिगत लाभसँग सम्बन्धि विषयहरुमा मात्रै केन्द्रित हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिवाद गर्ने चेतावनी दिए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् । उनले तीनवटै पार्टीका नेतृत्वबाट देश विकास हुन्छ भनेर पर्खिन नहुने बताएका हुन् । मुलुक करिब साढे तीन दशकदेखि कांग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भए पनि मुलुकको विकास हुन नसकेको बताए । लिङ्देनले राप्रपा मात्रै देश र धर्म बचाउने अभियानमा भएको दाबीसहित सहयोग गर्न आग्रह पनि गरे ।

‘राप्रपा नेपालमा रहेका राजनीतिक पार्टीमध्येको एक पार्टी मात्र होइन यो देश र धर्म बचाउने अभियान पनि हो। नेपालको राजनीतिमा भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर हामी अगाडि बढिरेहको छौँ,’ उनले भने, ‘आज राप्रपाको दर्शन र सिद्धान्तको रुपमा आज स्थापीत भएको छ । म त्यो मान्छे हो जसले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भनेर मात्र भनेको छैन । मैले मेरो जीवनकालमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा जान सक्छु । यो जीवनमा त के राजेन्द्र लिङदेनले अर्को जीवनमा समेत भ्रष्टाचार गर्ने छैन ।’

देशमा योभन्दा धेरै बर्बाद हुने ठाउँ नभएको उनको भनाइ छ । ‘तपाईहरू ढुक्कका साथ अगाडि बढ्नुस् । नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन । साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतनत्र जे नाम दिए पनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही कांग्रेस, त्यही माओवादी र तिनै नेताको वरिपरि सत्ता घुमिरहेको छ। तर यो साढे तीन दशकमा देशको अवस्था के भयो रु मैले भनिराख्नु पर्दैन,’ उनले भने, ‘हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौं र अहिले हामी कहाँ पुग्यौं । हाम्रो आँखा अगाडि छर्लङ्ग छ।’