Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना : ५ नेपालीको मृत्यु, ४ जना गम्भीर

भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी पाँच ‘नेपाली’को मृत्यु भएको छ ।

शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ ।

घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू महोत्तरीका हुन् ।

तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको लाइभहिन्दुस्थान डटकमले जनाएको छ । सडकमा बाइक स्टन्ट गरिरहेका युवकहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

स्कोर्पियो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको बताइएको छ । गाडीमा रहेका सबै महाकुम्भमा स्नान गरेर घर फर्किंदै थिए ।

दुर्घटनालगत्तै घटनास्थलनजिक सयौँ मानिस भेला भएका थिए । उपचारका निम्ति घाइतेलाई त्यहाँको श्रीकृष्ण मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।