५० जनाको शव फेला, १७ जना अझै बेपत्ता
अमेरिकामा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । खोजीकार्यका क्रममा ब्ल्याक बक्स भनिने विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरूले बताएका छन् ।
बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्युजलाई एक स्रोतले यो जानकारी दिएको हो । ब्ल्याक बक्समार्फत यो समस्या वास्तवमा कहाँ भयो पत्ता लगाउन सम्भव हुनेछ । सीबीएसका अनुसार, राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा ब्ल्याक बक्स जाँच गरिनेछ ।
स्थानीय समयानुसार बुधबार राति करिब ९ बजे अमेरिकी एयरलाइन्सको विमान वासिङटन डीसीनजिकै आकाशमा ब्ल्याक हक हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको जनाइएको छ ।
बम्बार्डियर कम्पनीको यो सीआरजे ७०० विमान कन्सासबाट वासिङटनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार, उक्त ठक्करपछि विमान आकाशमा दुई टुक्रा भई पोटोमाक नदीमा खसेको थियो । त्यसपछि नदीमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो ।
५० जनाको शव फेला, १७ जना अझै बेपत्ता
अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनासहित अहिलेसम्म ५० जनाक शव फेला परेको जनाएका छन्।
१७ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ। बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ।