Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका एक कैदी पक्राउ

डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गोंगबुबाट बुधबार पक्राउ गरेको हो । वैदेशिक रोजगारीको मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो ।

फैसला भएपछि २५ फागुन २०६६ मा पक्राउ परेर कारागार चलान भएका उनी २९ साउन २०६७ मा कारागारबाटै फरार भएका थिए । विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेपछि उनीहरु बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए ।