Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज सोनाम ल्होछार, ‘गरुड’लाई बिदा गरी ‘सर्प’ वर्षलाई स्वागत

देशभर सार्वजनिक बिदा

तामाङ समुदायले आज विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरि सोनाम ल्होछार २८६१ शुरु भएको छ।

सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।  प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ।  सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ। 

ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यु गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गर्ने चलन छ।

सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।