Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जसले महायज्ञका लागि १०११ मूर्ति बनाउँदैछन्!

उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ ।

“विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेको थिए”, पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठाका पण्डितले भने, “पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमङ्ग र उत्साह थपिएको छ ।” उहाँलाई बनाउन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन् ।

मूर्तिकार पण्डितले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्निे खालका मूर्ति तयार पारिने जानकारी दिए । रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लङ्कालगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको उनले बताए ।

मूर्तिकार पण्डितले सामान्यता सानो मूर्तिको रु एक हजार पाँच सयदेखि रु पाँच हजार मूल्य पर्ने भन्दै सोही अनुसार मूर्ति बनाउन लागिएको उल्लेख गरे । उनले एक हजार ११ मूर्ति बनाउन करिब रु २५ लाख रकम लाग्ने अनुमान गरे ।

“माटोलाई कुँदेर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ”, पण्डितले भने, “हामी पुस्तौदेखि यही काम गर्दै रमाइरहेका छौँ । यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुसी पाल्दै आइरहेको छु ।” उनले सबै खर्च कटाएर वार्षिक रु चार लाखसम्म बचत हुँदै आएको जानकारी दिए ।

पण्डितले मूर्ति बनाएरै तीन छोरी र दुई छोरालाई उच्च शिक्षा दिँदै आइरहेको बताए । “विगतमा मैलै २१, ५१, एक सय एक, दुई सय एक सङ्ख्यामा मूर्ति बनाएको थिए,” उनले भने, “यतिधेरै मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ ।”

महामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ आगामी माघ २४ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । “महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो”, उनले भने ।

महायज्ञ प्रसारप्रसार समितिका संयोजक राज सर्राफले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महायज्ञमार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको उनले बताए ।