Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कञ्चनपुरमा चारवटा विद्यालय भवन एकैसाथ निर्माण हुँदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चारवटा सामुदायिक विद्यालयका चार वटा विद्यालय भवन निर्माण थालिएको छ। सङ्घीय सरकारको रु दुई करोड २४ लाखको लागतमा निर्माण थालिएको हो।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नं ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नं १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

चारकोठे भवन निर्माणका लागि प्रतिभवन रु ५६ लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवं अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताए। “चालु आवभित्रै भवन निर्माणकार्य सक्नेगरी काम अगाडि बढाइन लागेको छ”, उनले भने। नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय माध्यमिक विद्यालयमा भवन निर्माणको शिलान्यास गरी कार्यारम्भ गरेका छन्।

शुक्लाफाँटा नगरपालिकामा सामुदायिक विद्यालय २८ र संस्थागत विद्यालय २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् । विद्यालयमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाको साक्षरता प्रतिशत भने ९५ दशमलव ५४ छ ।