Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

१६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला

देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ तेस्रो सातादेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अभियान सञ्चालनको योजना स्वीकृत गरेसँगै यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ ।


त्यसैगरी मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रूपमा अघि सार्ने भएको छ । मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारी विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिरहेको छ। नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्याङ्कमा छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ ।