Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

केबलकार निर्माणको विरोधमा ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द

छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसदहरू

केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले ताप्लेजुङमा अनिश्चितकालिन यातायात बन्द गराएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपको विषयलाई लिएर उनीहरूले मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू बन्द गराएका हुन्।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संर्घष समितिले अनिश्चितकालिन बन्द आह्वान गरेको हो । विभिन्न स्थानमा सुरक्षा कर्मी र आन्दोलनकर्मीको बाक्लो उपस्थिती देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारीसाधन बाहेक जिल्लामा निजी तथा सार्वजनिक सवारीसाधन नचलेको जानकारी दिए । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच शनिबार भएको झडपमा गोली लागेर तीन जना घाइते भएका थिए ।  

छलफल गर्न गृहमन्त्रीले बोलाए ४ जिल्लाका सांसदहरू
गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ घटनाबारे छलफल गर्न सांसदहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज साँझ ५ बजे ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका संघीय सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।

मन्त्री लेखकले छलफलका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएको सांसद सुहाङ नेम्वाङले जानकारी दिए । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् । सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भागदौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । जसकारण ताप्लेजुङमा यातायात ठप्प भएको छ ।