Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

डढेलो निभाउन जाँदा जलेर एक जनाको मृत्यु

जङ्गलमा लागेको डढेलो निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जङ्गलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भएको हो ।

आइतबार दिउँसो ३ बजेतिर लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए । स्याउ बगैँचाभित्र लागेको आगो फैलिएर जङ्गलसम्म पुगेको थियो ।

आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भएको हो । आगो अझै पनि नियन्त्रणमा आइसकेको छैन । गाउँपालिका अध्यक्षले आगो नियन्त्रणका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए । शव पोष्टमाटम गर्नका लागि अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने छ ।

आगो नियन्त्रणमा आउन नसकेपछि पूर्व गाउँपालिका अध्यक्ष देवलसिंह रावल र जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ पुगिसकेको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।