राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड धरौटी आजै बुझाउने तयारी गरेका छन् । एक करोड बैंक ग्यारेन्टीका लागि प्रक्रिया सुरु भइसकेको स्रोतले जानकारी दिएको छ ।
रविले यसअघि कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा पनि बैंक ग्यारेन्टी पेश गरेका थिए । दुवै अदालतमा प्रभू बैंक ग्यारेन्टी बसेको थियो । रुपन्देहीमा पनि प्रभू बैंक नै ग्यारेन्टी बस्न लागेको स्रोतको भनाइ छ ।
अदालतका तहसिलदार कुमार खड्काका अनुसार बैंक ग्यारेन्टीको तयारी भएकाले आफूहरु कार्यालयमै रहेको बताए। जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रलिलाई एक करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको छ।
रूपन्देहीमा रविलाई थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर तीन दिनसम्म बहस चलेको थियो । आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर भएपछि लामिछाने गएको बुधबार अदालतमा हाजिर भएका थिए । त्यस दिन बयान लिएर बिहीबारदेखि थुनछेक बहस सुरु गरिएको थियो । यसअघि रविले कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् ।