Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ट्राफिक सचेतनामा ललितपुर महानगरको साथ

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक सचेतनाले यात्रीको जीवनरक्षा र सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ललितपुर महानगरपालिकाले आज जावलाखेलमा आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतनाको सुभारम्भ कार्यक्रममा उनले यात्रुको सुरक्षाका लागि ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट र इन्टेलिजेन्ट’ ट्राफिक लाइट तीन सय ६५ दिन सञ्चालन हुने जानकारी गराउँदै विशिष्ट व्यक्तिको आगमन भन्दैमा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्न नपाइने बताए।

‘नियम उल्लङ्घन गर्नेको विवरण प्रविधि ९सिस्टम० ले देखाउँछ, जो सुकैले नियम उल्लङ्घन गरेमा सिस्टमले विवरण सङ्कलन गरिरहेको हुन्छ, सोहीअनुसार हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’, प्रमुख महर्जनले भने । उनले अहिले कुपन्डोलबाट जावलाखेलसम्म स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर व्यवस्थापन गरिएको जनाउँदै आगामी वर्ष पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म, सातदोबाटोबाट हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना हुँदै भैँसेपाटीसम्मको सडकमा जडान गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।


‘धेरैले ज्यान गुमाउनुपरेको स्थान कुसुन्तीमा ‘लिप्ट’सहितको अपाङ्गतामैत्री ‘ओभरहेड ब्रिज’ बनाउने काम भइरहेको छ, सम्पन्न भएपछि अपाङ्गता भएकाहरूले पनि सहजै सडक पार गर्न सक्नुहुनेछ । डरलाग्दो र भयावह दुर्घटनाको अवस्था देखिएको पाटन अस्पताल अगाडिको सडकमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने तयारी गरिरहेका छौँ, यसलाई छिट्टै पूर्णता दिनेछौँ’, प्रमुख महर्जनले भने ।

उनले ललितपुरलाई बस्न योग्य सहरका रूपमा विस्तार गर्दै नागरिकको दैनिकी सहज बनाउने गरी विकास गर्ने भन्दै हरेक साता नयाँ र राम्रो काम गरेर नागरवासीलाई सेवा प्रवाहमा सहजता दिने प्रतिबद्धता व्यक्त गरे । उनले एक सातासम्म सञ्चालन हुने ट्राफिक सचेतनाले जनतामा ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गर्ने विश्वास व्यक्त गरे ।

जावलाखेलस्थित प्राङ्गणमा महानगर प्रमुख महर्जनले ट्राफिक सन्देशमूलक ‘प्लेकार्ड’ देखाउँदै ट्राफिक नियमको पालनाबारे यात्रु, सवारीचालक र पैदलयात्रुलाई सचेतना दिने उद्देश्यले सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरे । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले आम नागरिकको दैनिकीलाई व्यवस्थापन गर्न नसक्दा समस्या भई यात्रामा अहजता सिर्जना गर्ने भन्दै ट्राफिक सचेतनाले जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

‘सचेतामस्लक काम सबैले मिलेर गर्नुपर्छ, यस्ता काममा जिल्ला प्रशासनको सहयोग र समन्वय रहनेछ, ट्राफिक नियम बुझेर परिपालन गरेको खण्डमा दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु पर्दैन । सवारीसाधनको नियमित मर्मत र नियम पालना महत्वपूर्ण छ, यो असल अभ्यासको सुरुआत गरेकामा महानगरलाई धन्यवाद दिन चाहान्छु’, उनले भने ।

प्रजिअ ढकालले ललितपुरमा स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइटको सुरुआत भइसकेकामा त्यहीअनुसार चालक र यात्रीले व्यवहार र कार्यशैलीमा पनि उतार्नुपर्नेमा जोड दिए । काठमाडौँ उपत्यकाका प्रहरी प्रमुख ध्रुवबहादुर राउतले सडक दुर्घटनामा हाल देशमा प्रत्येक दिन सात जनाले ज्यान गुमाउनुपरेको तथ्याङ्क प्रस्तुत गर्दै सचेतनाका माध्यमबाट ज्यान जाने अवस्था न्यूनीकरण गर्न सकिने धारणा राखे । उनले ट्राफिक नियम पालनामा सबैले ‘म’बाट परिवर्तनको सुरुआत गर्नुपर्नेमा जोड दिए ।

उपत्यकाका ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले सुरक्षित समाज निर्माणका लागि ट्राफिक नियम पालन अनिवार्य रहेको बताए । उनले सडक दुर्घटना बढेको बताउँदै गत पुसमा मात्रै काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट २० जनाको ज्यान गएको जानकारी गराए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये सबैजसो दुईपाङ्ग्रे सवारी चलाउने रहेका छन् ।

‘सडक दुर्घटना भयावह छ, पुसमा मात्रै उपत्यकामा २० जनाको मृत्यु भएको छ, १७ जना गम्भीर घाइते भएका छन्, यस्तो घटनाले परिवार र समाजलाई नकारात्मक असर गर्छ, त्यसैले जीवनरक्षा र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गरौँ’, ट्राफिक प्रहरी प्रमुख घिमिरेले भने । उनले नेतृत्व राम्रो हुँदा विकासले गति लिने भन्दै युरोपको झल्को दिनेगरी विकास भइरहेको ललितपुर महानगरले ट्राफिक सचेतनासँगै हरेक नागरिकको जीवनको रक्षा गर्दै युरोपभन्दा राम्रो सहरका रूपमा पहिचान स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे ।

उनले ‘नो हर्न’ नीतिका कारण दुर्घटनामा कमी आएका उल्लेख गर्दै तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको जानकारी दिए । शून्य दुर्घटना कायम गर्नसके अभियान सफल हुने भन्दै उनले यसका लागि विद्यार्थीमा सचेतना जगाउनु अनिवार्य भएको बताए । ललितपुर प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र निजी तथा आवासीय विद्या अर्गनाइजेसन ललितपुर महानगरका अध्यक्ष अर्जुन महर्जनले अभियानमा पूर्ण साथ सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।