नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उनको हकमा श्रीमती मञ्जु पाण्डेले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
आइतबार सचिव पाण्डेको रिट निवेदन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो । तर रिट प्रधानन्यायाधीशले हेर्न नमिल्नेमा राखेका छन् । अर्को पेसी सोमबारका लागि राखिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाइएको छ ।
२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनी पनि मुछिएका थिए ।
उनीहरूविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसूरको मुद्दा दर्ता गराएको थियो । उच्च अदालत पाटनले पनि २०८० मंसिर १५ गते पाण्डे, पूर्व उपप्रधान एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राईसहितलाई पुर्पक्षको लागि थुनामै राख्न आदेश दिएको थियो ।