अर्जुन सुवेदी । देशमा यतिबेला युवाहरुले सम्भावना नदेखिरहेको अवस्थामा मधुबन नगरपालिका-१ डल्ला गाउँमा बसोबास गर्ने अनिषा थारु सीप सिकेर आरामसँग नेपालमा बस्न सकिने बताउँछिन्। उनको परिवार सामान्य परिवार हो। बुवाआमा कृषि पेशामा आबद्ध छन। उनको परिवारमा बाजे बुवाआमा र भाइ गरी पाँचजनाको परिवार छ। करिब एक बिघा जमिन रहेको र बुवाआमाहरू कृषि पेशामै आबद्ध रहेको अनिसाले बताइन। पढ्ने क्रममा एसएससीमा असफलता मिल्यो । यो असफलताले नै अनिसालाई अझ मज्बुत गरायो।
एसईई मा आसफलता मिलेपछि गाउँको आफ्नै काका पर्ने उदिप योगीको सल्लाहमा उनी प्राविधिक अध्ययन गर्ने सोच बनाइन् । २०७४ सालमा उनी भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा टि एसएलसी अन्तर्गत सिविलतर्फको प्राविधिक तालिममा भर्ना भएर अध्ययन गरिन। हालै उनले बाँके जिल्लाको खजुरा गाउँपालिका स्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट सिविल तर्फको डिप्लोमा तहको अध्ययन पूरा गरेकि छन।
आफूलाई खार्दै निखार्दै उनले यसरी अगाडि बढाइन् कि उनले यो बीचमा थुप्रै सीपहरु सिकिन्। उनी टायल मार्बल, प्लम्बिङ, सिकर्मी, डकर्मी, फर्निचर, पेन्टिङ, गलैचा बुनाई, दुना टपरी निर्माण सीपहरु उनले सिकिन्। यतिबेला उनलाई भ्याइ नभ्याईको अवस्था छ। धेरै संघसंस्थामा आबद्ध रहेर विभिन्न ठाउँमा प्रशिक्षक भएर काम गर्दै आएकी छन ।

जब उनी टि एसएलसीको परीक्षा सकिसकेपछि प्राप्त सीपलाई उनले विभिन्न संघसंस्थामा प्रशिक्षक र रोजगारका रुपमा काम गर्दै गइन। उनी बाँके युनेस्को क्लब, कारिदास नेपाल, टिसिएन नेपाल, बढैयाताल गाउँपालिका, स्किल ट्रेनिङ सेन्टर, भेरी प्राविधिक शिक्षालय, मानस, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, काइट नेपाल, बिग्रुप, खानेपानी तथा सरसफाइ कार्यालय जस्ता दर्जनौं सरकारी गैरसरकारी संस्थाहरूमा कहिले प्रशिक्षकको रुपमा त कहिले कर्मचारी भएर उनले काम गर्दै आएकी छन। दुना-टपरी हस्तकला जस्ता तालिम आफूले पैसा तिरेर सिकेको बताइन।
आफू आत्मनिर्भर हुनुपर्छ भन्ने अभिप्रायका साथ अनिसाले एम हस्तकला उद्योगको स्थापना गरिन। उक्त हस्तकला उद्योगमा काठमाडौँबाट कच्चा पदार्थहरू ल्याएर गलैचा निर्माण गर्ने र त्यसलाई चाइनासम्म बजारीकरण पनि गरेकी छन। एउटा गलैचाको ३२००० सम्म बेचेको अनिसाले सुनाईन। नेपालमा गलैचा उद्योगको राम्रो सम्भावना रहेको र यसलाई विकास गर्न सके चीनसम्म सहज रुपमा यसको व्यापार गर्न सकिने अनिसाको अनुभव छ। आफूसँग पुँजीको अभाव भएकोले त्यसलाई धुनको लागि आवश्यक वासिङ मेसिन किन्न नसकेर आफूले पर्याप्त मुनाफा कमाउन नसकेको कारण एम हस्तकला उद्योग अरुलाई नै बेच्न परेको नेपालरैबारडटकमसँग अनिसाले दुखेसो पोखिन। काम गर्दै जाँदा बढयाताल गाउँपालिका ९ मा दुना टपरी उद्योग सञ्चालनमा ल्याएकी अनिसाले पुँजीको अभावका कारण सो उद्योगलाई आवश्यक पर्ने विभिन्न डाइहरु खरिद गर्न नसकेर अहिले सो उद्योगलाई अगाडि बढाउन नसकेको बताइन्।

नेपालरैबारडटकमसङ्गको कुराकानीको क्रममा टिएसएलसी पढ्ने क्रममा प्रयोगात्मक कामका लागि ढुङ्गा गिट्टी बालुवा सँग खेल्नुपर्ने सिमेन्टहरु बनाउनुपर्ने इटाहरु बोक्नुपर्ने श्रमिक जस्तै भएर काम गर्दाखेरि त्यति बेला आफूलाई दिक्क लागेको उनले सम्झिन। यसैगरी अध्यन गर्ने क्रममा आफ्नो क्षमता र प्रतिभालाई धेरैले प्रशंसा गरेको देख्दा आफूलाई खुशी लागेको उनले बताइन।
नेपालमा अथा सम्भावना देखेकी अनिसाले यदि आफूले सिप जानेमा काम पनि प्रशस्तै पाइने बताउछिन। आत्मनिर्भरताका लागि आफ्नै उद्योगहरू पनि सञ्चालन गरेर बस्न सकिने अनिसाको अनुभव छ। दिनु हजारौँ सङ्ख्यामा युवाहरू विदेशिँदै गर्दा आफू कहिले पनि विदेश नजाने उनले बताइन्।

आफूले सिकेको सिपबाट यतिबेला आफुले मासिक २ लाखसम्म कमाउने गरेको उनले भनिन। अनिसाले अबका दिनमा केही पुँजीको व्यवस्थापन गरेर उद्योग सञ्चालन गर्ने र आफूले सिकेको सिप अनुसारको पेशा अपनाउँदै जीवनलाई अगाडि बढाउने बताउँछिन्। २७ वर्षीय युवती अनिसा थारु एक उदाहरणीय युवा हुन्, जसले आफ्नो पढाइको असफलतालाई सफलतामा आत्मसम्मानका साथ सोरोजगार हुदै समाजमा आगाडि बढिरहेकी छन। हरेक युवाले उनको जीवन कथा अध्ययन गरेर आफूलाई बदल्न सक्नेछन् । उनलाई युवाहरूका लागि एक प्रेरणाको स्रोतको रुपमा लिन सकिन्छ ।