Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान, अध्यक्षमा पाँच जना भिड्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत पदाधिकारी चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज (शनिबार) निर्वाचन हुन लागेको हो ।

बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ । चुनावमार्फत नेतृत्व चयन गर्नका लागि देशभरिका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।


उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा हुँदैछ । उपत्यका विशेष प्रदेशको विश्वभाषा क्याम्पस र बागमती प्रदेशको वाल्मीकि क्याम्पसमा हुनेछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ। क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन् ।

महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । खड्काले महासचिवबाट फिर्ता लिएर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिवमा मनोनयन दर्ता गराएका गोविन्द बानियाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका थिए ।

अब महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन् । अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय सहित कुल ३१२ जना निर्वाचनबाट चयन हुनेछन् ।