Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विद्यालयको गेट खस्दा एक विद्यार्थीको मृत्यु, एकको आइसीयूमा उपचार हुँदै

कैलालीको कैलारी गाउँपालिका–९, गदरियास्थित जनता माविको गेट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोही विद्यालयमा कक्षा एकमा अध्ययनरत सात वर्षीय प्रवेश रानाको बिहीबार साँझ मृत्यु भएको हो ।

 कक्षा दुईमा अध्ययनरत आठ वर्षीय समीर चौधरी गेटमा च्यापिएर गम्भीर घाइते भएका छन् । विद्यालयको मैदानमा खेल्ने क्रममा गेट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गेट खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक खड्काले बताए ।

घाइते समीरको धनगढीस्थित निसर्ग अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ । उनको खुट्टा र आँखामा चोट लागेको छ । विद्यालय बिदा रहेका वेला खेल्ने क्रममा गेट खसेको जनता माविका प्रधानाध्यापक सीताराम चौधरीले जानकारी दिएए । ‘चार–पाँच जना बालबालिका बेलुकी मैदानमा खेल्दै रहेछन् ।

 त्यस क्रममा गेट तान्न खोज्दा स्लाइडको गेट खसेछ । तलको चक्का भाँचिएर माथिको सपोर्ट खस्किएको रहेछ,’ उनले भने । गाउँपालिकाले बिहीबार र शुक्रबार जाडो बिदा दिएकाले बिहीबार विद्यालय बन्द रहेको थियो । मृतक र घाइते दुवै बालक सोही गाउँका हुन् ।