Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विदेश उड्नुअघि गोरखकाली दर्शनमा निस्किएका आमा–छोराकै दुर्घटनामा मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दीप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए ।

सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका–५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए ।

उनलाई विदेश जान अफर लेटर पनि आयो । त्यहीं खुशीमा १९ वर्षीय सन्दीपले आमा मधुमाया आलेलाई मंगलबार बिहानै ग.प्र.००३–००१ प ०३१० नम्बरको मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनीहरू अस्ताउन पुगेका छन् ।

उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका–१२ तल्लो छिर्कनस्थित पृथ्वी राजमार्गमा पुग्दा बाक्लो हुस्सुका कारण चालक रहेका सन्दीपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात-आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमाछोरा दुवैको निधन भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको निधनले आले परिवार शोकमा डुबेका छन् ।