Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको हो । यसअघि जिल्ला अदालत कास्कीले रविसहित सातजनालाई धरौटीमा रिहा गरेको थियो । रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका हुन् भने पूर्व डीआईजी छविलाल बन्जाडे जोशी ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

यस्तै, लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।

जिल्ला अदालत कास्कीले पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो । अदालतले माग गरेको धरौटी बुझाएर त्यसैदिन ६ जना र लिला पछाई भोलिपल्ट रिहा भएकी थिइन् ।