Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनसरीमा आफ्नै साथीहरूले गरे खुकुरी प्रहार गरी हत्या

सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ।

धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा रिजन राईको चिया खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीहरूले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार रिजनको टाउको, बायाँ कुम, हातको हत्केला र कुहिनामा चोट लागेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएको थियो। तर, गम्भीर घाइते रिजनको उपचारकै क्रममा मृत्यु भयो।

घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान-५ का २१ वर्षीय सुदिप तामाङ रहेका छन्।

जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन्।