Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको ७३ वर्षको उमेरमा निधन

चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको बुधबार हृदयघातका कारण निधन भएको छ। ७३ वर्षीय नन्दी प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए। 

अनुपम खेरले एक्समा पोस्ट गरेर उनको मृत्युको बारेमा जानकारी दिए। उनले चमेली, सुर र हजारौं ख्वाइसेँ ऐसी जस्ता चलचित्र निर्माण गरेका थिए। प्रितिश नन्दीको जन्म १५ जनवरी १९५१ मा भागलपुर, बिहारमा भएको थियो। उनी 'द इलस्ट्रेटेड वीकली अफ इन्डिया'का सम्पादक थिए र आफ्नो बोल्ड विचारका लागि प्रसिद्ध थिए। उनले फिल्म निर्माणमा पनि आफ्नो छाप छोडे र २४ हिन्दी-अंग्रेजी फिल्महरू बनाए।

नन्दी सन् १९९८ / २००४ को बिचमा महाराष्ट्रबाट राज्यसभामा शिवसेना सांसद पनि थिए। नन्दीले अंग्रेजीमा ४० भन्दा बढी कविताका पुस्तक लेखेका थिए। उनले बंगाली, उर्दू र पञ्जाबीका कविताहरू अंग्रेजीमा अनुवाद गरे। प्रितिश नन्दीले सन् १९९० को दशकमा दूरदर्शनमा ‘द प्रितिश नन्दी शो’ नामक टक शो होस्ट गरेका थिए। उनले गड्स एन्ड ओलिभ्स पुस्तकबाट कवि र लेखकको रूपमा आफ्नो छाप छोडे।

उनले सन् २००० को सुरुमा आफ्नो ब्यानर प्रितिश नन्दी कम्युनिकेसन्स अन्तर्गत सुर, काँटे, झंकार बीट्स, चमेली, हजारों ख्वाइसें ऐसी, प्यार के साइड इफेक्ट्स जस्ता धेरै फिल्महरू निर्माण गरेका थिए। पछिल्लो पटक निर्माताको हैसियतमा उनले अमेजन प्राइम भिडियोको वेब सिरिज ‘फोर मोर शट्स प्लिज’ र एन्थोलोजी सिरिज ‘मोडर्न लभ मुम्बई’ निर्माण गरेका थिए।