Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

भेपमार्फत सुन तस्करी प्रकरणः भन्सारका नासुसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

विद्युतीय चुरोट (भेप) मार्फत भएको नौं किलो सुन तस्करी प्रकरणमा भन्सारका नायव सुब्बासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


सो प्रकरणमा मुछिएका दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गरी हदैसम्मको सजाय माग गरी मुद्दा दर्ता गरिएको हो ।

यसअघि उनीहरूविरुद्ध सीआईबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो । गत १६ भदौमा यो मुद्दाको फैसला भएको थियो । जसमा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैल र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको थियो ।

यस्तै वेदप्रकाश र साहेव रावविरुद्ध जनही ४५ हजार जरिवाना सुनाइएको थियो । दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो । राम केशव र अमृतको जग्गा जफतको फैसला भएको थियो । भेपमार्फत् आएको सुन बेचेर जग्गा खरिद गरेको खुलेपछि उक्त जग्गा जफतको फैसला भएको थियो ।

फ्लाई दुबईको जहाजमार्फत् १० पुस २०७९ मा चिनियाँ नागरिक लि ह्यानसङ्गले सुटकेशमा राखेर भेपभित्र लुकाएर सुन ल्याएका थिए । सुनले भरिएको उक्त सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । त्यतिबेला भेपमा सुन भए(नभएको यकिन हुन बाँकी नै थियो । भन्सारले पासपोर्ट समेत लिएर चिनियाँ नागरिक होसाङलाई छाड्यो । भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट लिएर स्वदेश फर्किए । पछि एकाएक उक्त भेप गायव पारेर बेचेको खुलेपछि सुन तस्करीको रहस्य बाहिरिएको थियो । त्यसपछि सीआईबीले यसको अनुसन्धान गरेको थियो ।