Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

बैंकरलाई उद्योगमन्त्रीको प्रश्नः जनता दुब्लाउँदै जाने, बैंक मोटाउँदै जाने के हो?

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अर्थतन्त्रमा सुस्तता आउनुमा बैंक तथा वित्तीय संस्थादेखि निजी क्षेत्रसम्म उत्तिकै जिम्मेवार भएको बताएका छन् । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ साधारणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

साधारणसभामा उनले जनता दुब्लाउने र बैंक मोटाउने अवस्था भएको दाबी गरेका छन् । ‘हिजो चर्को ब्याजदर उठाएका बैंकहरूले आज त्यो पैसा कहाँ लगे?’, उनको प्रश्न छ, ‘बढ्दा पनि बैंक समस्यामा, घट्दा पनि बैंक नै समस्यामा भन्ने हुन्छ र?’ जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने अवस्था हुन नहुने उनले बताए।

मन्त्री भण्डारीले भने, ‘आजको दिनमा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन्? कि सरकारले लिइरहेकै छ, किन जोखिम लिनुपर्‍यो भनेर लगानी नगरिएको हो?’ घरजग्गामा मात्रै ऋण दिने गरिएकोले क्षमता भएकाहरूलाई बैंकले ऋण नदिएकोमा मन्त्री भण्डारीले आपत्ति जनाए । जनता मारमै रहने तर बैंकहरू मोटाउँदै जान नहुने उनको तर्क छ ।

‘सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन्’, उनले भने, ‘हामी सम्भावनालाई छोड्दै गइरहेका छौं । कृषि क्षेत्रमा बैंकहरूको लगानी कति छ? उद्योगमा लगानी कति छ?’ अर्थतन्त्रमा आएको शिथिलतालाई कसरी सुधार गर्न सकिन्छ भन्ने मुख्य कुरा रहेकाले एक अर्काको टाउको देखाएर पन्छिने काम गर्न नहुने भण्डारीले बताए । अहिलेका चुनौतीहरूलाई समाधान गर्नका लागि यो सरकार बनेको समेत उनले दाबी गरे। अहिले सबै पालिकामा वित्तीय संथा पुगेकोले सबै सर्वसाधारणले सेवा लिइरहेको समेत उनको भनाइ थियो ।