काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको हो ।
जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेर बुझाएको हो ।
प्रतिवादीहरूबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो दाबी गर्नुपर्ने राय प्रहरीले दिएको छ । त्यसमध्ये लामिछानेले करिब ६ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । सोही अनुसारको बिगो लामिछानेको नाममा छुट्टाइएको काठमाडौं प्रहरीले जनाएको छ । स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ जम्मा गरेको खुलेको थियो । बचतकर्तामध्ये ६९० जनाले प्रहरीमा उजुरी दिएका थिए ।
स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएको अडिट रिपोर्टबाट खुलेको छ । जसमध्ये सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईको हर्बो इन्टरनेसनल प्रा.लि.मा गएको छ । त्यहाँ १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएको भेटिएको छ ।
जीबी ग्रुप अफ कम्पनी प्रालिमा एक करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रा.लि.मा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा तीन करोड ७८ लाख सात हजार नौ सय ३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएको भेटिएको छ । बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले अनुसन्धान गर्न भन्दै स्वर्णलक्ष्मीको अडिटसहितको रिपोर्ट २३ पुस २०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।
त्यतिबेला रकम अपचलन गरेको निष्कर्षसहित सञ्चालकहरूको विवरण, अडिट रिपोर्ट, साधारणसभाको निर्णयलगायतका कागजातहरू मन्त्रालयले प्रहरीलाई पठाएको थियो । सोही पत्रका आधारमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान सुरुवात गरेको थियो । पछि यो अनुसन्धान प्रहरी परिसर काठमाडौंले गर्यो । कार्तिक २१ मा सहकारी लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामालाई पक्राउ गरेर काठमाडौं प्रहरीले अनुसन्धान थालेको थियो ।