दुर्घटनामा परी आमाको ज्यान गएपछि शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार बझाङको थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडक माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।
आमाको दुर्घटनामा निधन भएको खबर सुन्ने लगतै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् ।उनले आमाको शव हेर्न निकै जिद्दी गरिन् । आमाको पार्थिव शरीर देख्ने बित्तिकै उनी बेहोस भइन् ।
‘बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरायौं,’ आफन्त विश्वप्रकाश जोशीले सुनाए, ‘स्लाइन पानी चढाएपछि केहीबेर होसमा आए पनि फेरि बेहास बनिन् ।’ सोमबार दिउँसो बेहोस अवस्थामा जिल्ला अस्पताल चैनपुर लगे पनि अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको जोशीले जानकारी दिए ।