Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका प्रचण्ड बने भावुक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आईसीयूमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य भेट्न पुगेका छन्। आज आइतबार साँझ अस्पताल पुगेका प्रचण्डले वैद्यका परिवार भेटेर उनको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।

वैद्य अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जअन्तर्गतको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा आईसीयूमा उपचाररत छन् । उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा संक्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरेका छन् ।

सो क्रममा दुवै जना भावुक पनि बनेका थिए । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म घनिष्ट सम्बन्ध थियो । पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूले एकले अर्कालाई निकै आदर भावका साथ सम्मान गर्दै आएका छन् । वैद्य केही दिन पहिले स्वास्थ्यमा खराबी देखिएपछि अस्पताल भर्ना भएका थिए । त्यसअघि उनको पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । हप्ताव्यापी बैठकका कारण वैद्यको स्वास्थ्य खराबी बढेको थियो ।