Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने  आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ । तपाईँहरु नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’

Photo (5) (1).jpg

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्पर्ने नभइ कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे । कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गराएका हुन् ।  

सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित गरेका छन् । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथी बन्ने उदघोष गरे ।

Photo (4).jpg

कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए ।