Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेको बयान सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी लामिछानेलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् ।

 हिजो (बिहीबार)बाट सुरु भएको उनको बयान आज (शुक्रबार) सकिएको हो । उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो ।  लामिछानेको बयान सकिएसँगै इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । 

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ ।  लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।