Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरकारले तीनकुनेमा व्यक्तिको जग्गा वर्षौंदेखि लुटेर राखेको छ - बालेन शाह (भिडियोसहित)

शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीनकुनेमा रहेको व्यक्तिको जग्गा वर्षौंदेखि सरकारले लुटेर राखेको बताएका छन्। सरकारले विभिन्न बाहना गर्दै तीनकुनेका जग्गा धनीहरूलाई अहिलेसम्म पनि मुआब्जा नदिएको र मुआब्जा दिने प्रक्रिया नै अघि नबढाएको पनि उनले बताए।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमा हुँदा मुआब्जा विवाद समाधान नभए कहिल्यै पनि नहुने उनको भनाइ थियो । उनले महोत्सव गर्न कार्यक्रम स्थल उपलब्ध गराएकोमा जग्गा धनीहरूलाई धन्यवाद पनि दिएका थिए।

तीनकुनेभित्रका जग्गा धनीहरूको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा भएको प्रथम कोटेश्वर महोत्सवमा शुक्रबार बोल्दै मेयर शाहले भने ‘५० औं वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन,कोही नेताहरूले मुआब्जाको प्रक्रिया अघि बढेको छ भन्नु भयो भने नपत्याउनुहोला, कुनै प्रक्रिया भएको छैन।’ उनले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गर्दै यहाँको छुट्टै पहिचान झल्कनेगरी काम गर्न व्यवसायीलाई आग्रह गरे ।

मेयर शाहले भने, ‘यसपालि त दुई तिहाइको सरकार छ तैपनि केही गरेको छैन। कोही नेता घरमा आएर प्रक्रिया अघि बढेको छ भन्नुभयो भने नपत्याउनुहोला, प्रक्रिया केही बढेको छैन। मुआब्जा चाँडै होस् शुभकामना दिन सकिन्छ।’ साथै उनले तीनकुनेका जग्गा धनीहरूलाई मुआब्जाका लागि संघीय सरकारले काम अघि बढाउनुपर्नेमा जोड दिए। 

भिडियो: