भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ।
भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ। चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। गम्भीर तीन जनालाई हेलिकोप्टरमार्फत् काठमाडौंका लागि पठाइएको छ।
भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं पठाइएको हो। अन्यको भोजपुर अस्पतालमा उपचार भइरहेको छ।